दफा ६४
अधिकार तथा उत्तरदायित्वको हस्तान्तरण
: (१) नेपाल सरकारको पूर्व स्वीकृति बिना ठेकेदारले यस पेट्रोलियम सम्झौता अन्तर्गत प्राप्त अधिकार तथा उत्तरदायित्वहरूमध्ये केही वा सबै अरू कसैलाई हस्तान्तरण गर्न हुँदैन ।
(२) ठेकेदारले यस सम्झौता अन्तर्गत आफूलाई प्राप्त केही वा सबै अधिकार तथा उत्तरदायित्व अरू कसैलाई हस्तान्तरण गर्न चाहेमा अधिकार ग्रहण गर्ने व्यक्ति (ट्रान्सफरी) को योग्यताको प्रमाणसहित नेपाल सरकारको स्वीकृतिको लागि विभागमा निवेदन दिनु पर्नेछ । त्यस्तो निवेदन प्राप्त भएको मितिले साठी (६०) दिनभित्र विभागले अधिकार ग्रहण गर्ने
व्यक्तिको योग्यताको पुनरावलोकन गरी स्वीकृति दिनेछ वा अस्वीकृतिको कारण जनाउनेछ ।
(३) नेपाल सरकारले तोकिदिएको ढाँचामा पक्षहरूले सम्झौता नगरेसम्म अधिकार हस्तान्तरण गरेको कुरा लागू हुनेछैन ।